सरकारी एम्बुलेन्सको प्रयोगमा गाँजा तस्करी, एम्बुलेन्स सहित तीन पक्राउ

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1354 पटक हेरिएको

हेटौंडा, माघ १२ ।

हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। शनिबार साँझ करिब ७ बजे प्रहरीले वडा नम्बर १९ बाट बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।

मकवानपुर प्रहरी प्रवक्ता ललनकुमार कुर्मीका अनुसार इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो। उक्त सरकारी एम्बुलेन्स रौतहटको डुमरिया स्वास्थ्य चौकीको रहेको खुलेको छ। पक्राउ पर्नेमा चालक डुमरिया नगरपालिका ९ का मोहम्मद खलिद, डुमरिया(४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी छन्।

उनीहरूले मकवानपुरकै कुनै ठाउँबाट एम्बुलेन्समा गाँजा ओसार्ने गरेको पत्ता लागेको छ। एम्बुलेन्स रोकेर हेर्दा तीन वटा झोलाभित्र ६ पोकामा राखेको गाँजा फेला परेको थियो। एम्बुलेन्सबाट ९१ हजार रूपैयाँ पनि बरामद भएको छ। एम्बुलेन्ससहित नियन्त्रणमा लिइएकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम दुईदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधनसमेत जफत हुने व्यवस्था रहेको छ। सोही ऐनअनुसार उनीहरूमाथि कारबाही हुने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार