काठमाडौं, माघ १२ ।
राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि आज बुधबार मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुन लागेको जनाएको हो । जसका लागि आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा प्रदेश निर्वाचन कार्यालय विराटनगरमा र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको आयोगले जानकारी दिएको छ ।
मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यहरूले मतदान केन्द्र ‘क’ र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुले मतदान केन्द्र ‘ख’ मा भोट खसालिरहेका छन् । सुदूरपश्चिममा सत्तारूढ गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा छ ।
यसैगरी मधेश प्रदेशमा पनि मतदान जारी छ । मधेश प्रदेशमा नेकपा एमाले र लोसपाले गठबन्धन गरेका छन् । निर्वाचनको नतिजा पनि आज नै प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।