काठमाडौं, माघ ११ ।
साढे दुई महिनादेखि चलिरहेको नेपाली कांग्रेसको अन्तरिक विवाद बारम्बारको प्रयास पछि हिजो समाधान भएको छ । १४ औं महाधिवेशन ०७७ फागुन ७ मा नै गर्ने गरी दुई नेता बीच सहमति भएको छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासहितका नेताहरुबीच शुक्रबार बूढानीलकण्ठमा झण्डै ७ घन्टा लामो वार्ता भएको थियो ।
वार्तामा महाधिवेशन कार्यतालिकासहित विवादित विषयहरमा सहमति जुटाएको उपसभापति विमलेन्द्र निधिले बताए । उनले भने, ‘सहमति अनुसार पर्सि १ बजे बैठक बोलाइएको छ र यो बैठकमा सबै साथीहरुले भाग लिनु हुनेछ ।’ यस अघि २६ मंसिरमा बोलाइएको बैठक पौडेल र सिटौला समूहले बहिस्कार गरेको थियो । केही दिन बैठक स्थगित गरेर वार्ता गरेको संस्थापन पक्षले पुस १० मा बहुमतबाटै केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप्ने, महाधिवेशनको कार्यकातालिका बनाउने सहितका निर्णयहरु गरेको थियो ।
यसबाट थप चिढिएको पौडेल र सिटौला समूहले बहुमतको निर्णय कुनै हालतमा नमान्ने बताएको थियो । तर कृष्ण सिटौलाको पहलमा भएको वार्तामा सहमति जुटेको छ । उपसभापति निधिका अनुसार अब १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति २०७७ फागुन ७–१० मै हुनेछ । तर त्यसको कार्यतालिका र कार्यविधि भने संशोधन हुनेछ ।
शीर्ष नेताहरुबीच क्रियाशील सदस्यता छानविन गर्ने सहमति पनि भएको निधिले जानकारी गराएको छ । ‘यो समितिलाई १३ औं महाधिवेशनका बेला नरहरि आचार्यको नेतृत्वमा बनेको समितिकै टीओआर दिने सहमति पनि भएको छ’, उपसभापति निधिले भनेका छन् ।
ने.वि.संघमा तदर्थ समिति
कांग्रेस शीर्ष नेताहरुबीच भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन ६ महिनाभित्र गर्ने गरी तदर्थ समिति गठन गर्ने सहमति भएको छ । सभापति देउवाले नियुक्त गर्नेछन् भने केन्द्रीय तदर्थ समितिमा पर्ने पदाधिकारी र सदस्यले आगामी महाधिवेशनमा भाग लिन पाउने छैनन् ।
साथै नैनसिंह महरको नेतृत्वको कार्यसमितिको म्याद सकिएको दिनसम्म ३२ वर्ष ननाघेकाहरुले आगामी महाधिवेशनमा भाग लिन पाउने पनि सहमति जुटेको छ । उपसभापति निधिले भने, ‘१३ गते बस्ने बैठकमा महामन्त्रीद्वयले प्रस्तावहरु पेश गर्नुहुन्छ र सर्वसम्मतले पास गर्ने सहमति भएको छ ।’