चीनबाट नेपाल फर्किएका युवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि,के हो कोरोना ?

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  2002 पटक हेरिएको

काठमाडौं, माघ १० ।

चीनको वुहान शहरबाट फैलिएको रहस्यमयी कोरोना भाइरस नेपालमा पनि देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन नै गरेर कोरोना भाइरस नेपालमा देखिएको पुष्टि गरेको हो। मन्त्रालयले चीनबाट फर्केका एक नेपाली विद्यार्थी कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले १३ जनवरीमा चीनबाट आएका एक विद्यार्थी संक्रमित भएको जानकारी दिए।

शंकास्पद बिरामीको रगत र र्‍यालको नमूना परीक्षणका लागि हङकङ पठाइएकोमा त्यो नमूनामा भाइरस भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । उनले संक्रमित ती विद्यार्थीको उपचारसमेत भएको जानकारी दिए।

चीनको वुहान शहरमा पहिलो पटक देखिएको रहस्यमयी कोरोना भाइरस अहिले विश्वका करिब ८ देशमा फेला परी सेकेको छ। चीनमा मात्र २६ जनाको यो भाइरसका कारण मृत्यु भएको छ भने कम्तिमा ६ सय जना संक्रमित भएको जनाइएको छ।

कोरोना भाईरस के बाट सर्छ के हो कारक तत्व ?

कोरोना भाइरसको वास्तविक कारक सर्प हुनसक्ने बताइएको छ। चिनियाँ सर्प क्रेएइटबाटै यो भाइरस फैलिएको अनुसन्धानले देखाएको छ।जुन कोब्रा प्रजातिको मानिन्छ र यस्ता सर्प अति विषालु तथा खतरनाक मध्ये मानिन्छन्। धेरैजसो मध्य र दक्षिणी चीन तथा दक्षिणपूर्वी एसियाली क्षेत्रमा यस्ता सर्प पाइन्छ ।

के हो कोरोना भाईरस ?

वैज्ञानिकका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो। जुन १७ वर्ष अघि महामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ। विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सीओभी’ नाम दिएका छन् । यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो। जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ। सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ ।

कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ। चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ। अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ। यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ ।

हाल देखिएको ‘२०१९–सिओभी’ को कारण सार्स र मार्स कोरोनाको लक्षणसँग मिल्छ। यद्यपि कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन। बरु महामारीको रुप लिनुअघि नै यसबाट बच्न शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

कोरोना भाइरस अमेरिकामा पनि देखियो ।

चीनबाट अमेरिका पुगेका एक अमेरिकी नागरिकमा समेत कोरोना भाइरस देखिएको अमेरिकाले जनाएको छ। चीनको वुहानबाट अमेरिकाको सिएटल पुगेका अमेरिकी नागरिकमा यो भाइरस भेटिएको अमेरिकाले पुष्टि गरेको हो ।

ती नागरिक यही जनवरी १५ मा चीनको वुहानबाट फर्किएका थिए। स्वास्थ्य चेकजाँच गराउँदा उनलाई कोरोना लागेको कुरा विज्ञप्ति मार्फत २० जनवरीमा जानकारी गराइएको हो ।
यससँगै उत्तर कोरिया लगायत अन्य देशले यसबाट बच्न सीमा तथा विमानस्थलमा उच्च शतर्कता अपनाउन थालेका छन् ।

नेपालमा पनि गत सातादेखि उच्च शतर्कता अपनाइएको थियो।। यही कारण विमानस्थलमा रहेको ‘हेल्प डेस्क’लाई कामकाजी बनाइएको थियो। चीनबाट आएका एक नेपाली विद्यार्थीमा यसको लक्षण देखिएपछि शुक्रराज ट्रोपिकल सेन्टरमा लगेर जाँच गराइएको हो। यसवाहेक नेपाल प्रवेश गर्ने चिनियाँ नागरिकमाथि पनि प्रारम्भिक जाँच थालिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार