काठमाडौं, माघ ९ ।
त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना संक्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि सबै सैद्धान्तिक कक्षाहरु अनलाइनमार्फत सञ्चालन गर्ने गरी निर्णय गरेको हो । यसका लागि सबै क्याम्पस तथा विभागहरुले सोमबार ९भोलि० १० गतेभित्र अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्नेछ ।
त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै अनलाइन कक्षा व्यवस्थित गर्नका लागि हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने उल्लेख गरेको छ । त्यस्तैगरी सबै विभागले विभागीय प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति अनलाईन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्नेछ ।
त्रिवि कार्यकारी परिषदले भौतिक उपस्थितमा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, अभ्यास शिक्षण र इन्टर्नशिप लगायतका क्रियाकलाप स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्न सकिने निर्णय गरेको छ । अनलाइन कक्षा व्यवस्थित भए-नभएको अनुगमन गर्न डिनको संयोजकत्वमा अनलाइन कक्षा अनुगमन समिति बन्ने त्रिवि सूचना तथा जनसम्पर्क महाशाखा योगेन्द्रप्रसाद दाहालले जनाएका छन् ।
नेपालमा कोरोना संक्रमण फैलिएसँगै शैक्षिक क्षेत्रमा यसको ठुलो असर परेको छ । नेपालमा ईन्टरनेटको समस्याका कारण पनि बिद्यार्थीहरुलाई अनलाईन कक्षामा समाबेश गर्न सकिन्छ कि सकिदैन यो सबै भन्दा ठुलो चुनौतीको बिषय बनेको छ । त्रिबिको यो निर्देशनले शिक्षा क्षेत्रमा केहि आस पलाए पनि चुनौती भने ब्यापक रहेको शिक्षा क्षेत्रका जानकारहरु बताउछन । नेपालमा इन्टरनेटको समस्या, बिजुलीको समस्या, कम्प्युटर तथा मोबाईलको समस्या लगायतका बिबिध समस्याका कारण अनलाईन कक्षा प्रभाबकारी हुनेमा संका रहेको छ ।