

काठमाण्डौ माघ ८ ।

नेपाली राष्ट्रिय फुटबल टिमले इङ्ग्ल्याण्डको “सी” डिभिजनको टिमसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र इङ्ग्लिस फुटबल एसोसियशनबीच दुई वटा मैत्रीपूर्ण खेलका लागि आधिकारिक सम्झौता भएको हो ।
नेपाली टिम सन् २०२० को मे महिनामा इङ्ग्ल्यान्डको भ्रमणमा निस्कने छ । खेल आगामी मे २५ मा ७ हजार दर्शक क्षमता रहेको अल्डरसट फुटबल क्लबको मैदानमा हुनेछ ।
यस्तै सन् २०२१ को मे महिनामा इङ्ग्ल्यान्डको टिम नेपाल आउने छन् । नेपालमा हुने खेलको मिति भने तय भएको छैन । होम एण्ड अवेका आधारमा मैत्रीपूर्ण खेल हुन लागेको हो । उक्त खेल दुबै देशमा खेलिनेछ ।

मैत्रीपूर्णका लागि सम्झौता गर्न इंग्ल्यान्ड फुटबलका एन्ड्री सा र लाउरेन जोन्स सोमबार नेपाल आएका थिए । नेपाल र बेलायतबीचको दौत्य सम्बन्ध २ सय ४ वर्ष पुगेको उपलक्ष्यमा मैत्रीपूर्ण खेल हुन लागेको हो । सम्झौतामा इङ्ग्लिस फुटबल सङ्घका प्रतिनिधि लोरेन जोन्स र एन्डरसन तथा एन्फाबाट अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गरेका थिए । उक्त खेलले दुई देशको सम्बन्धलाई अझ मजबुद बनाउने एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले बताए ।

