काठमाडौं, माघ ९ ।
केन्द्रमा प्रधानमन्त्रि के.पि शर्मा ओलिले संसद बिघटन गरेसँगै नेपालको राजनितिक परिघटना बदलिएको छ । त्यस्तै नेकपामा फुट पैदा भएको छ भने केन्द्र देखि क्षेत्र स्थानीय तहसम्म एकअर्काको बिरोध शुरु भएको छ । एकले अर्को पक्षलाई बिश्वास गर्ने वाताबरण छैन अहिले प्रदेश सरकारमा त्यसको प्रत्यक्ष असर देखा परेको छ ।
बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । सभामुख सानु कुमार श्रेष्ठले दिउँसो एक बजे प्रदेशसभा बैठक बोलाएका हुन् । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने प्रचण्ड–माधव समूहका नेता शालिकराम जम्मकट्टेलले जानकारी दिए । बागमती प्रदेशसभाका कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले पनि आजको बैठकमा अविश्वास प्रस्तावमाथि छलफल हुने बताए ।
यद्यपि आजको बैठकको कार्यसूची के–के हुने भन्ने विषय कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–माधव समूहका ४५ जना प्रदेशसभा सदस्यहरुले गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकको दिन अविश्वासको प्रस्ताव टेबुल भएको थिएन । पहिलो दिन भएकाले बैठकमा दलका नेताहरुले बोलेपछि सभामुख श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए । मुख्यमन्त्री पौडेलले अविश्वास प्रस्तावको सामना गर्न तयार रहेको भनेपछि र अन्य राजनीतिक दलका नेताहरुले अर्को बैठक राख्न दबाव दिएपछि सभामुख श्रेष्ठले आजका लागि बैठकको मिति तोकेका हुन् ।
कांग्रेस अहिलेसम्म न्युट्रल देखिएकाले अविश्वास प्रस्ताव पास हुने/नहुने टुंगो छैन । यदि अविश्वास प्रस्ताव फेल भए एक वर्षसम्म अविश्वास प्रस्ताव पेश गर्न पाइँदैन ।