काठमाडौं, माघ ८ ।
भारतीय अनुदानको कोरोनाविरुद्दको १० लाख डोज खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार बालुवाटारमा आयोजित एक औपचारिक कार्यक्रमका बिच भारत सरकारको तर्फबाट उपहार स्वरुप कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भन्दै भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ छलफल गर्न आवश्यक रहेको बताए । उनले नेपालले आवश्यक खोपहरु खरिद गर्न तयार रहेको भन्दै पूर्वसर्तहरु भए मान्न तयार रहेको बताए । प्रधानमन्त्री ओलीले भारत सरकारले बाँकी खोपहरुपनि उपलब्ध गराउने विश्वास व्यक्त गरे । उनले भारतले नेपाललाई कोरोनाविरुद्दको खोप सहयोग गर्नु मित्रताको प्रतिकको रुपमा रहेको उल्लेख गर्दै यसले दुईदेश विचको एकतालाई देखाएको बताए ।
भारतमा ३ हजार जनामा गरिएको अन्तिम चरणको परीक्षणमा यो खोप ९० प्रतिशत प्रभावकारी देखिएको थियो । कोभिसिल्ड भारत, बेलायत, अर्जेन्टिनालगायत देशमा वितरण भइरहेको छ भने बंगलादेश, माल्दिभ्स, भुटानलगायत मुलुकमा भारतले अनुदानमा उपलब्ध गराउँदैछ ।