कोरोना कहरः आजदेखि काठमाण्डौँ उपत्यकामा सभा-जुलुश गर्न नपाईने, सार्वजनिक स्थानमा जादा खोप कार्ड अनिवार्य

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  201 पटक हेरिएको

काठमाण्डौँ, माघ ५ ।

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र बनेपछि आजदेखि काठमाण्डौँ उपत्यकामा सभा जुलुश नारावाजी गर्न प्रतिवन्ध गरिएको छ । सार्वजनिक स्थलमा भीडभाड गर्न पनि बन्देज लगाईएको छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यलयले दिएको निर्देशन अनुसार अबदेखि सार्वजनिक यातायातमा चढ्दा अनिवार्य मास्क लगाउनु पर्नेछ, गाडीमा सिट क्षमता भन्दा बढी यात्रु राख्न पाईने छैन ।

त्यसै गरी माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा कोभिड भ्याक्सिन खोपकार्ड अनिवार्य बोकेको हुनुपर्ने भनिएको छ । बार, जिम, सिनेमा हल, रात्री क्लब जस्ता व्यवशायहरु पनि अर्को आदेश नभएसम्मको लागि बन्द गरिएको छ । देशमा दैनिक १० हजार भन्दा बढि कोरोना संक्रमित थपिदा त्यसको ५० प्रतिशत उपत्यकाकै मात्रै रहेका छन् । आदेशअनुसार मठ(मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गराउन भनिएको छ।

सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जना भन्दा बढी नहुने, कुनै पनि सामान अनावश्यषक रूपमा नछुने, दुई व्यक्तिबीचमा कम्तीमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने लगायतका मापदण्डहरू पालना गर्न आदेश जारी गरिएको छ।

पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक तिहाइ नबढ्ने गरी बढीमा ५० जनामात्रै उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिई विवाह, ब्रतबन्ध, न्वारन तथा पास्नी जस्ता कार्यक्रम सञ्चालन गर्न भनिएको छ।लामो दूरीमा चल्ने यातायातले भने बीचबाटोमा थप यात्रु चढाउन नपाइनेगरी आदेश जारी गरिएको छ। सम्भव भए एन्टिजेन परीक्षण समेत गराउन भनिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार