सत्य निरुपणमा भट्ट र बेपत्ता आयोगमा सुवेदीको नाम सिफारिस

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  753 पटक हेरिएको

काठमाण्डौँ, माघ ५ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम सिफारिस गरिएको छ । पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले शनिवार कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई पदाधिकारीको नाम सिफारिस गरेको मन्त्रालयका सहायक प्रवक्ता कमलराज गौतमले जानकारी दिए ।

सत्य निरुपणको अध्यक्षमा डा। गणेशदत्त भट्ट र बेपत्ता आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस गरिएको छ। पदाधिकारीविहीन भएको ९ महिनापछि समितिले नाम सिफारिस गरेको हो । समितिका सदस्य शर्मिला कार्कीले समितिको २४ औं बैठकबाट दुवै आयोगका ५/५ जना पदाधिकारीको नाम सिफारिस गरिएको जानकारी दिए ।

उनले कानून मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाइएको बताए । उनले नाम सिफारिस गर्न विभिन्न कानूनी प्रक्रियाले ढिलाइ भएको बताए । ‘आयोगसम्बन्धी कानून पनि संशोधन गर्नु थियो,’ उनले भने, ‘विभिन्न प्रक्रियाले गर्दा नाम सिफारिसमा ढिलाइ भयो ।’

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा आयोगका पदाधिकारीको नाम सिफारिस समितिले गरेपछि मन्त्रिपरिषदबाट नियुक्त गर्ने सहमति भएको थियो ।

बेपत्ता पारिएकाहरूको छानविन आयोग आफूलाई राखेर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रमुख प्रतिपक्षी कांग्रेसलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष दिएको छ। सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्षका लागि गणेशदत्त भट्टको नाम सिफारिस भएको हो। यो आयोगमा एक सदस्य कांग्रेसले पाउनेछ। जसका लागि प्रचण्डमान श्रेष्ठको नाम सिफारिस भएको स्रोतको भनाइ छ।

उक्त आयोगमा नेकपा तर्फबाट गोविन्द गौतम, विष्णु पोखरेल र मन दाहालको नाम सिफारिस छ।  बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग नेकपाले लिएको हो। जसको अध्यक्षका लागि युवराज सुवेदीको नाम सिफारिस भएको हो। स्रोतका अनुसार सदस्यमा नेकपाबाट विष्णु भण्डारी छन्।

उक्त आयोगमा कांग्रेस निकटका सुनिल सिंह, सरिता थापा र गंगाधर अधिकारीको नाम सिफारिस भएको छ। सिफारिस भएका नाम अब बस्ने मन्त्रिपरिषद बैठकले पारित गर्ने बताइएको छ। नाम सिफारिसका लागि गत वर्ष चैतमा मन्त्रिपरिषदले मिश्र नेतृत्व समितिलाई जिम्मेवारी दिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार