काठमाडौं, माघ ५ ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो ।
पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भए/नभएको खुलेको थिएन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ पुसमा उनीहरुको नमुना हङकङ प्रयोगशालामा पठाइएको थियो । त्यसमध्ये ३ जनामा देखिएको भाइरस नयाँ प्रकारको भएको पुष्टि भएको छ ।
२८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रकारको भाइरस देखिएको हो । उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै छन् । तर उनमा लक्षण नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
के हो कोरोनाको नयाँ प्रकार ?
कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार बेलायतको दक्षिणपूर्वी क्षेत्रमा डिसेम्बर महिनामा देखिएको थियो । यो साधारण कोरोनाभन्दा ५० प्रतिशत बढी संक्रामक हुने देखिएको छ । छिटो फैलिने भएकाले धेरै मानिस प्रभावित हुनसक्ने विशेषज्ञहरुको चेतावनी छ ।
यद्यपि अन्य असरहरु भने साधारण कोरोनाको जस्तै देखिएको छ । तर यसबारे थप अध्ययन जरुरी रहेकाले अहिले कुनै निष्कर्षमा पुग्नु हतार हुने जानकारहरुले बताएका छन् ।
मन्त्रालयको प्रेस बिज्ञप्ति ।