बहुमत सांसदको समर्थनमा प्रदेश २ को राजधानी जनकपुर स्वीकृत
भिजन अनलाईन न्युज संबाददाताप्रकाशित: 256 पटक हेरिएको
जनकपुरधाम, माघ ३ ।
प्रदेश नम्बर दुईको स्थायी राजधानी जनकपुरधाम कायम भएको छ । सोमबार भएको मतदानबाट स्थायी राजधानी जनकपुरधाम दुई तिहाइ बहुमतले पारित भएको हो । मतदानमा ९९ जना सांसदहरू मध्ये ७८ जना सांसदले जनकपुरधामको पक्षमा मतदान गरेको सभामुख सरोजकुमार यादवले बताए ।
प्रदेश सभामा रहेका कुल १०४ जना सांसद सङ्ख्याको दुई तिहाइ मत भएकाले जनकपुरधाम स्थायी राजधानीको रूपमा दुई तिहाइ बहुमतले पारित भएको यादवले बताए ।
जनकपुरधामको प्रस्ताव पारित भएपछि राजधानीको अन्य प्रस्ताव स्वतः अस्वीकृत भएको छ । राजधानी जनकपुरधामको विपक्षमा २१ मत खसेको थियो । प्रदेश सांसद परमेश्वर साह, रवीन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले राजधानी जनकपुरधाम प्रस्ताव गरेका थिए ।
राजधानी जनकपुरधामको क्षेत्र उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला परिक्रमा तोक्न प्रस्ताव गरिएको थियो ।