भात, माघ २ ।
भारत सरकारले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भ्रमणको निम्तो दिने निर्णय गरेको छ । भारत सरकारले भारतमा हुन गइरहेको शांघाई कोअपरेशन अर्गनाइजेशन (एससिओ) मा आबद्ध मुलुकका सरकार प्रमुखको शिखर सम्मेलनमा सहभागी हुन भन्दै खानलाई निमन्त्रणा दिन लागेको हो । भारतीय विदेशमन्त्रालयका प्रवक्ता रभीश कुमारले खानलाई भारत भ्रमणको निम्तो दिइने बताएका छन् ।
‘यसै वर्ष भारतमा एससिओमा आबद्ध मुलुकका सरकार प्रमुखको शिखर सम्मेलन हुँदैछ’, कुमारले भने, ‘स्थापित अभ्यास र प्रक्रिया अनुसार ८ वटा सदस्य मुलुक र ४ वटा पर्यवेक्षक मुलुकसहित अन्तर्राष्ट्रिय साझेदारलाई निमन्त्रणा गर्दैछौं ।’
यसै वर्षको अन्त्यतिर एससिओमा आबद्ध सरकार प्रमुख र प्रधानमन्त्रीको सम्मलेन भारतमा हुँदैछ । उक्त सम्मेलनमा सहभागी हुन भन्दै भारतले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई निमन्त्रणा दिन लागेको हो । पहिलो पटक एससिओमा आबद्ध मुलुकका सरकार प्रमुखको शिखर सम्मेलन भारतमा हुन लागेको हो । एससिओ मुलुकका राष्ट्र प्रमुखको बैठक भने जुलाइ महिनामा रुसमा हुँदैछ ।
शांघाई कोअपरेशन अर्गनाइजेशनको सदस्यमा ८ वटा मुलुक छन् । एससिओमा भारत, चीन, काजकिस्तान, किर्गिस्तान, रुस, ताजिकिस्तान, पाकिस्तान र उज्वेकिस्तान छन् । सन् २०१७ देखि भारत र पाकिस्तानले उक्त संगठनको पूर्ण सदस्यता लिएका थिए ।
यदि शिखर सम्मेलनमा खान सहभागी भए भने उनी र मोदीबीच भेटवार्ता हुने भारतीय अधिकारीले बताएका छन् । पाकिस्तानमा खान प्रधानमन्त्रि भएयता भारत र पाकिस्तानका प्रधानमन्त्रिहरुको अन्तरदेशीय भ्रमण भएको छैन ।