वैदेशिक रोजगार सम्बन्धी ठगी नियन्त्रण गर्न प्रहरी र रोजगार बिभाग बिच सहकार्य

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1782 पटक हेरिएको

काठमांडौ, पुस २७ ।

आज पौष २७ गतेका दिन वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित र शोषण रहित वनाउन तथा वैदेशिक रोजगारको नाममा हुन सक्ने मानव वेचविखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्न, त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण तथा पुनर्स्थापना गर्न वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीवीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । रोजगारको शिलशिलामा हुने बिबिध पक्षको नियंत्रण र निराकरण गर्न दुई पक्ष बिच छलफल गरी सहमति भएको महानिर्देशक भीष्म भुसालले जनाएको छ ।

उक्त समझदारीपत्रबाट देहायका उद्देश्यहरु पुरा हुने अपेक्षा लिइएको बिभागले जनाएको छ ।

क. वैदेशिक रोजगारको क्रममा हुने मानव वेचविखन निवारणका लागि आपसमा प्रभावकारी समन्वय र सहकार्य गर्ने।

ख. आ-आफ्नो क्षेत्राधिकारका विषयहरु सुक्ष्म रुपमा अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्न एक अर्कालाई सहयोग पुर्यारउने तथा एकापसमा सहकार्य गर्ने।

ग. वैदेशिक रोजगारीको क्रममा मानव वेचविखनका जोखिम कम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना तथा स्रोत परिचालन गर्ने।

घ. वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत नलिएका व्यक्ति, संस्था, फर्म वा एजेन्सीबाट वैदेशिक रोजगार सम्बन्ध कार्य गर्ने वा वैदेशिक रोजगार सम्बन्धी ठगीमा संलग्न हुनेलाई कानूनको दायरामा ल्याई कारवाही चलाउने तथा त्यस्ता कार्य नियन्त्रण गर्न एकापसमा सहकार्य गर्ने।

अब मानव वेचविखन अनुसन्धान व्युरोले मानव वेचविखन सम्वन्धी मुद्दा अनुसन्धानको लागि वैदेशिक रोजगार विभागको अनुसन्धान अधिकृतको सहयोग लिन सक्ने छ। त्यस्तै गरी वैदेशिक रोजगारसम्वन्धी मुद्दाको अनुसन्धानमा वैदेशिक रोजगार विभागले नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग/मानव वेचविखन अनुसन्धान व्युरोको अनुसन्धान अधिकृतको सहायोग लिन सक्ने छ।

त्यसैगरी वैदेशिक रोजगार व्यवसायको लागि इजाजतपत्र लिएका बाहेक अन्य व्यक्ति वा संस्थाहरूबाट वैदेशिक रोजगार व्यवसाय सम्बन्धी कार्य भैरहेको वा ठगी भैरहेको जानकारी विभागलाई प्राप्त भएमा नजिकको श्रम तथा रोजगार कार्यालयका प्रतिनिधिको संलग्नतामा वा कार्यालयका प्रतिनिधि उपलब्ध हुन नसकेको अवस्थामा विभागको सूचनाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको समेत प्रतिनिधित्व रहने गरी नेपाल प्रहरीले त्यस्ता व्यक्ति वा संस्थाहरूको क्रियाकलापहरूको निगरानी गर्ने, सूचना सङ्कलन गर्ने तथा अनुसन्धान गरी स्पष्ट रुपले वैदेशिक रोजगार विभागको क्षेत्राधिकारमा पर्ने भएमा कागजात सहित विभागमा पठाउने छ। आफ्नो क्षेत्राधिकारको अवस्थामा नेपाल प्रहरीले अनुसन्धान तहकिकात गर्दा विभागको सहयोग चाहिने अवस्थामा विभागले संयुक्त अनुसन्धान गर्ने गरी अधिकृत कर्मचारी तोकी पठाउने बिभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार