प्रदेश ३ को नाम बाग्मती सर्वसम्मतिले स्वीकृत, राजधानी हेटौंडा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  872 पटक हेरिएको

हेटौंडा, पुस, २७ ।

प्रदेश ३ स्थायी राजधानी हेटौंडा र नाम बाग्मति कायम भएको छ । आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो । आइतबार बिहान राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरे भने ३ सांसदले हेटौंडा स्थायी राजधानी बनाउन नहुने पक्षमा मत जायर गरेका थिए । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम बाग्मती राख्ने निर्णय सर्वसम्मतले पारित गरेको छ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको नाम बाग्मती राख्ने प्रस्तावमा एक सय ८ मत आएको बताए। प्रदेशसभामा एक सय १० सांसद भए पनि आइतबारको बैठकमा एक सय आठ जना मात्रै उपस्थित थिए। मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी हेटौंडा राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नाम बाग्मती राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए। नेकपा, कांग्रेस, राप्रपा, राप्रपा संयुक्तले राजधानी हेटौंडा र नाम बाग्मती राख्ने संयुक्त प्रस्ताव पेश गरेपछि निर्णयका लागि मतदान गरिएको थियो।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यस अघि नाम र राजधानीबारे निर्णय गरेको थियो । त्यहीँ निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो । जसमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।

प्रदेशको नाम वागमती राख्न सहमत भएको विवेकशील साझा पार्टीले भने स्थायी राजधानी काभ्रेको धुलिखेल प्रस्ताव गरेको थियो । तर धुलिखेललाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभाको बहुमत सदस्यले अस्वीकृत गरेको छ । प्रदेश ३ को राजधानी काभ्रपलाञ्चोक हुनुपर्ने पक्षमा सत्तारूढ नेकपाका अधिकांश प्रदेशसभा सदस्य थिए । उनीहरुले प्रदेशसभामा प्रस्तावसमेत लगेका थिए । हेटौंडाको पक्षमा मकवानपुर, चितवन र सिन्धुलीका सदस्यमात्र थिए ।

तर नेकपा केन्द्रीय सचिवालयले हेटौंडा नै स्थायी राजधानी बनाउन प्रदेश कमिटीलाई निर्देशन दिएपछि नेकपाका सांसदले बाध्य भएर हेटौंडाको पक्षमा मतदान गरेका हुन् । कतिपय सांसदले पार्टी निर्णय नमान्ने चेतावनी दिए पनि अन्तिममा हेटौंडाको पक्षमा मतादन गरेका हुन ।

प्रदेशसभामा हेटौंडाको विपक्षमा विवेकशील पार्टीमात्र उभिएको छ । प्रदेशसभाका ११० सिटमध्ये सभामुख सानुकुमार श्रेष्ठले मतदान गरेनन् भने नयाँशक्तिबाट निर्वाचित तर पछिल्लो समय स्वतन्त्र रहेका सांसद प्रेम तामाङ मतदान प्रक्रियामा अनुपस्थित थिए । उनको प्रदेशको नाम नेवा ताम्सालिङ राख्ने प्रस्तावमा समर्थक समेत नपाएपछि प्रक्रियामा सहभागी नभएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार