काठमाडौं, पुष २७ ।
सामाखुशीबाट १० पुसमा लुटिएको दाबी गरिएको ३० तोला सुन प्रकरणमा प्रहरीको भूमिकामाथि छानविन गर्न समिति बनेको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी उपरीक्षक (एसपी) भोलाराज रावलको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो ।
समितिमा काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी प्रमेश विष्ट र अपराध महाशाखाका डीएसपी निशान थापा सदस्य छन् । रावल नेतृत्वको समितिलाई प्रकरणबारे यथाशिघ्र छानविन गरेर प्रतिवेदन बुझाउन भनिएको छ ।
अल नेपाल अस्पताल अगाडिबाट दोलखाका संयोग कार्की, सुवास तिम्सिनासहितका व्यक्तिको सुनको ब्रास्लेट लुटिएको भनिएको थियो । त्यसबारे जानकारी पाएपछि बसपार्क प्रभागका प्रहरी नायब निरीक्षक (सई) नवराज इटानीले योजनाकार भएको बताउँदै सुर्खेतका दीपक नेपालीलाई पक्राउ गरेका थिए ।
यद्यपि, उनले आफ्नो कमाण्डर बसपार्कका निरीक्षकलाई रिपोर्ट नगरी महाराजगञ्ज प्रहरी वृत्त लगेका थिए । इटानीले करिब डेढ घन्टा केरकार गरेर साँझ महाराजगञ्ज लगेपछि डीएसपी रोशन खड्काले लुटिएको भनिएको सुनबारे सोधीखोजी गरेका थिए ।
पीडित भनिएकाले सुनको बिल देखाउन नसकेपछि डीएसपी खड्काले पक्राउ परेका नेपालीलाई छाडेको भनिएको छ । तर, कार्कीले भने पीडितलाई नै उल्टै बिल देखाउन भन्दै मुद्दा चलाउने धम्की दिएको आरोप लगाएका छन् ।