प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै राख्ने नेकपा संसदीय दलको निर्णय

प्रकाशित:  1031 पटक हेरिएको

काठमाडौं, पुस २५ ।

प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा हुने पक्का भएको छ। शुक्रबार बिहान बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको प्रदेश ३ को संसदीय दलको बैठकले नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको हो। नेकपाको सचिवालय बैठकको निर्देशन अनुसार नै संसदीय दलले पनि नाम र राजधानीबारे निर्णय गरेको नेकपा प्रदेश ३ का प्रदेश सदस्य विजय सुवेदीले जानकारी दिए।

‘केही फरक मत पनि आएका छन् तिनलाई सुरक्षित राखेर प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय भयो,’ सुवेदीले भने,‘केहीबेरमा बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभाको बैठक बोलाउँछ। सोही बैठकमा नाम र राजधानीबारे निर्णय हुन्छ।’

प्रदेशसभाको बैठक आइतबार बस्ने सम्भावना छ। सोही बैठकमा प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव लैजाने नेकपा ३ नम्बर प्रदेशको तयारी गरेको छ। प्रदेश ३ को संसद १ सय १० सदस्यीय रहेको छ। जसमध्ये ८० जना नेकपाका सांसद छन्। प्रदेशको नाम र राजधानी २ तिहाइले पारित गर्नुपर्छ। ७४ जना भए दुई तिहाइ पुग्छ। तर नेकपाकै केही सांसदहरू भने राजधानी हेटौंडा बनाउन नहुने पक्षमा छन्।

यस अघि गत पुस १३ गते बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती र स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको थियो।

सचिवालयको निर्णय अनुसार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश कमिटीका पदाधिकारी तथा प्रदेश सांसद रहेका पार्टीका केन्द्रीय नेताहरूलाई बालुवाटार बोलाएर सचिवालयको निर्णय कार्यान्वयन गर्न निर्देशन समेत दिएका थिए। सो क्रममा ३ नम्बर प्रदेश ईन्चार्ज समेत रहेका नेकपाका केन्द्रिय सदस्य अष्टलक्ष्मी शाक्यले भने पार्टीको निर्देशन नमान्ने भन्दै नेतृत्वसँग असन्तुष्ठ रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार