

काठमाडौं, पुस २५ ।

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी व्रतकथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको व्रत बसे तथा कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वास रहदै आएको छ।
माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले गत शनिबार (पुस १९) गते पत्रकार सम्मेलन गरी पूजाको विधि, पूजामा चाहिने सामग्री तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण जानकारी दिएको थियो। पुस २५ गतेदेखि १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्यलगायतका विषयमा सम्पूर्ण तयारी पूरा भइसकेको मूल आयोजक समितिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले बताए।

समितिले गएको वर्ष लाखौँको सङ्ख्यामा भक्तालु दर्शनार्थीले प्रत्यक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै यो वर्ष पनि सोही अनुपातमा श्रद्धालु भक्तजन आउने अपेक्षा गरेको छ। मेलाका लागि व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ।
मेलामा राखिएका विभिन्न पसलबाट पसलले जथाभावी रूपमा पैसा लिने गरेकाले समितिले यस वर्ष समिति तथा उपसमिति बनाएर बजार व्यवस्थापनको अनुगमन गर्ने भएको समेत जानकारी गराएको छ।

महानगरीय प्रहरी प्रभाग साँखुले पनि सुरक्षाका लागि प्रहरी ‘हेल्प डेस्क’को स्थापना गरेको तथा ट्राफिकको उचित व्यवस्थापन गरेको जानकारी दिएको छ। साँखु प्रभागका प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीले सुरक्षाका लागि मेलामा ७० जना युनिर्फम तथा अन्य सादा पोशाकमा प्रहरी टोली परिचालन गरिएको बताउनुभयो। तीर्थयात्रीको सुरक्षालाई थप मजबुत बनाउनका सिसीटिभी फुटेजबाट पनि अवलोकन गरिने पन्थीले बताए।

