काठमाडौं, पुस २१।
अष्ट्रेलिया जङ्गलमा केहि दिन देखि लागेको डढेलोले उग्र रुप लिदा लाखौँ हेक्टर जङ्गल नष्ठ भएको छ । खतराको स्तरमा पुगेको अष्ट्रेलियाको जङ्गलमा लागेको भीषण डढेलोले अष्ट्रेलिया सरकारलाई मात्र समस्यामा पारिरहेको छैन, यसको बढ्दो क्षतिले विश्व समुदायलाई नै अत्याएको छ । चार महिनादेखिको डढेलो नियन्त्रणमा आउने भन्दा बढी नियन्त्रण बाहिर गइरहेको छ । गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भयानक रुपमा प्रभावित पारेको छ । डढेलोका कारण अहिलेसम्म १८ जनाको ज्यान गइसकेको छ भने करीब ५० करोड जनावर र पंक्षीहरुको मृत्यु भइसकेको छ ।
आगोले २ सय बढी घरमा पनि क्षति पुगेको छ । थुप्रै मानिसहरु अहिले पनि आगोबाट प्रभावित क्षेत्रमा बसिरहेका छन् ।युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टले अहिलेसम्म ५० करोड जनावर डढेर मरिसकेको उल्लेख गरेको छ । यसमा स्तनधारी पशुपंक्षीका साथै घस्रने जनावर पनि समावेश छन् । न्यू साउथ वेल्स रुरल फायर सर्भिस (आरएफएम) ले जङ्गलको डढेलोका कारण नावरा नजिकैको उत्तरी किनारमा आफ्नै मौसम प्रणाली विकसित भएको जनाएको छ । यसलाई आरएफएसले निकै नै खतरनाक स्थिति बताएको छ ।
अष्ट्रेलियाको न्यू साउथ वेल्स जङ्गलको डढेलोका कारण आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकहरुमा विविध स्वास्य समस्या देख्न थालिएको नेपाली समुदायले बताएको छ । अष्ट्रेलिया सरकारले सो क्षेत्र र आसपासको क्षेत्रमा बिद्युत सेवा समेत काटेकोले जीबन यापन गर्न कठिन भएको त्यहाँ बसोबास गर्ने नेपालीहरुले बताएका छन । बाहिर उच्च तापक्रम, डढेलोका धुलो धुँवा र बिद्युत सेवा अबरोधका कारण मानब स्वाथ्यमा बिबिध समस्या देखिन थालेको स्थानीयहरुले बताएको छ ।
यो डढेलो अष्ट्रेलियाको भिक्टोरिया र न्यू साउथ वेल्सको तटीय इलाकामा सबैभन्दा धेरै फैलिएको जनाइएको छ । आगलागीका कारण हावा र विषालु धुँवाका कारण पूर्वी तटमा रहेको इलाकामा जीवनयापन निकै मुस्किल भएको छ । मानिसहरु घर छोडेर भागिरहेका छन् । मृतकको संख्या लगातार बढिरहेको छ । अष्ट्रेलिया सरकारले थुप्रै इलाकामा संकटकालको घोषणा गरेको छ ।
भिक्टोरियाको स्थिति थप भयानक बनिरहेको छ । शनिबार तीब्र गतिको हावाका कारण आगो थप फैलिएको छ । बढ्दो तापक्रमका कारण अग्नी नियन्त्रणमा खटेका समूहले ठूलो समस्या व्यवहोर्नु परेको छ । थुप्रै स्थानमा तापक्रम ४५ देखि ४७ डिग्रीसम्म पुगेको छ । मौसम विभागका अनुसार हावाले थप आगो फैलाइरहेको छ । यसबाट आउने धुँवाले उद्दारकार्यमा बाधा पुर्याइरहेको छ । आगोका कारण हजारौं मानिसहरु घर शहर छोडेर शरणार्थीको रुपमा बस्न बाध्य छन् ।
न्यू साउथ वेल्सको मध्य–उत्तरी इलाकामा सबैभन्दा धेरै जनावरको बसोबास छ । तर जङ्गलमा लागेको आगोका कारण उनीहरुको जनसंख्यामा भारी गिरावट आएको छ । एउटा सानो आगोको फिलुङ्गोले कतिसम्मको विध्वंस मच्चाउन सक्दोरहेछ भन्ने उदाहरण अष्ट्रेलियाको डढेलोले विश्वलाई प्रमाणित गरिरहेको छ ।
आज भने न्यू साउथ वेल्स क्षेत्रमा हल्का बर्ष भएकोले तापक्रममा भने सन्तुलन आएको तर डढेलो भने नियन्त्रणमा नआएको अष्ट्रलियाका ९ न्युज च्यानलले जनाएको छ ।