

काठमाण्डौँ, पुस १९ ।

नेपाल प्रहरीमा प्राविधिकतर्फको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस विरुद्ध उजुरी परेको छ । प्रहरीको प्राविधिक तर्फका नायव महानिरीक्षक (डिआइजी) डा. मिनराज पाठकले शुक्रबार लोकसेवा आयोगको बढुवा तथा विभागीय सजाय परामर्श शाखामा उजुरी दिएका हुन् ।
गृहसचिव प्रेमकुमार राई नेतृत्वको बढुवा समितिको सोमबार बसेको बैठकले प्राविधिक तर्फकी डिआइजी डा. आशा सिंहलाई एआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । तर, डा. पाठकले भने आफू भन्दा जुनियर डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरिएको भन्दै उजुरी दिएका हुन् ।

डा. पाठकले आफू प्रहरी निरीक्षक देखि डीएसपी, एसपी, एसएसपी र डिआइजीमा बढुवा हुँदासम्म १ नम्बरमा रहेपनि पछिल्लो ३ वर्षको कार्यसम्पादन मूल्याङ्कनमा पछि पार्ने काम भएको पनि आरोप लगाएका छन् । डा. पाठक सहित एआइजीमा बढुवा सिफारिस भएकी सिंह र डा. सुमनराज श्रेष्ठ १ पुस २०७५ मा प्रहरीको प्राविधिक तर्फको नायव महानिरीक्षक (डिआइजी)मा बढुवा भएका थिए । प्रहरीको प्राविधिक तर्फका एआइजी प्रहरी अस्पतालको प्रमुख हुन्छन् ।
प्रहरीको प्राविधिक तर्फकी एआइजी डा. दूर्गा थापाले ३ पुसमा अनिवार्य अवकाश पाएपछि १ नम्बरमा रहेका डिआइजी डा. पाठकले नै प्रहरी अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी पाएका थिए तर बढुवा सिफरिसमा भने डिआइजी डा. आशा सिंहलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको थियो ।

