एपिएफलाई ३-१ ले हराउँदै आर्मीले जित्यो महिला गोल्डकप

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1361 पटक हेरिएको

काठमाडौं, पुस १९ । 

धनकुटाको तल्लो टुडिखेलमा शुक्रबार सम्पन्न भएको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबले सहिद रिदामाहाङ रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई टाइब्रेकरमा ३–१ ले हराउँदै आर्मीले उपाधि जितेको हो ।

धनकुटाको तल्लो टुडिखेलमा शुक्रबार भएको फाइनलको निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । वर्षाका कारण निर्धारित समयको खेल सकिएपछि सोझै पेनाल्टी गराइएइको थियो । पेनाल्टीमा आर्मीले ३-१ ले हराउँदै बाजी मारेको हो ।

पेनाल्टीमा आर्मीका लागि रश्मी घिसिङ, निशा बोहोरा र पुजा राना मगरले गोल गरिन् । एपिएफका लागि मञ्जु दोङ मात्र गोल गर्न सफल भइन् । पेनाल्टीमा एपिएफकी सावित्रा भण्डारी, अनिता बस्नेत र गिता राना गोल गर्न असफल भएका थिए । किरात आठपहरिया समाज नेपाल धनकुटामा आयोजित प्रतियोगिताको विजेता आर्मीले २ लाख र एपिएपले १ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

पुस ९ गते काठमाडौंमा प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलेर आर्मी र एपिएफ धनकुटा पुगेका थिए । धनकुटा जानुअघि एपिएफले प्रधानसेनापति महिला फुटबलको फाइनलमा आयोजक आर्मीलाई २–० ले हराएको थियो ।

आठपहरिया प्रथम महिला गोल्डकपमा एपिएफकी सावित्रा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् र उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । ७ गोलसहित सर्वाधिक गोलकर्ता बनेकी आर्मीकी शर्मिला थापाले ७ हजार रुपैयाँ पाइन् ।

आर्मीकी अन्जना रामगर उत्कृष्ट गोलकिपर, एपिएफकी गिना राना उत्कृष्ट रक्षक, एपिएफकी रेणुका नगरकोटी उत्कृष्ट मिडफिल्डर, आर्मीकी रश्मीकुमारी घिसिङ उत्कृष्ट फरवार्ड र आर्मीका चक्र तामाङ उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्टले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार