काठमाडौं, पुस १९।
सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । बैठक सोमबार बिहान बस्ने भएको हो । बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सत्ता साझेदार दलहरुको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको संसदको अवरोध खुलाउने विषयमा पनि छलफल हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचन नजिकिदै गर्दा सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको जनाइएको छ । यद्यपि आगामी माघ १२ गते हुने राष्ट्रिय सभा चुनाव नै बैठकको मुख्य एजेण्डा रहेको स्रोतले बतायो । सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा गठबन्धन बनाएर निर्वाचनमा जाने तयारीमा छन् ।
केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन । यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो ।सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् । आगामी फागुनदेखि एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना गरी २० सांसद चार वर्षे कार्यकाल पूरा गरी बिदा हुँदैछन् । मनोनीत हुनेबाहेक १९ सिटका लागि ७ वटै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन हुने छ । आजको बैठकमा यी सिटहरूमा सत्ता साझेदार दलहरुबीच भागबण्डाको प्रयास हुने एक नेताले बताए ।