काठमाण्डौँ, पुस १७ ।
काठमाण्डौँ महानगरपालिकासँगको साझेदारीमा गैर आवासीय नेपाली संघ एनआरएनए द्धारा निर्माण घोषणा गरिएको सार्बजनिक शौचालयको डिजाईन अध्यक्ष कुमार पन्तद्धारा सामाजिक संजाल फेसबुक मार्फत सार्बजनिक गरेका छन । सामाजिक संजालमा शौचालयको डिजाईन राख्दै कुनै सुझाव, प्रविधि वा नवीन उपाय छन् भने हामीसँग हातेमालो गर्न आउन समेत आह्वान गरेका छन ।
काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा गैरआवासीय नेपाली संघ (NRNA)ले काठमाडौँका प्रमुख व्यस्त चोकहरुमा सार्वजनिक शौचालय निर्माण गर्ने सोच अघि सारेको थियो । यसमा महानगरका तर्फबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको अध्यक्ष पन्तले जनाएको छ । केही स्थानमा महानगर र संघको संयुक्त टोलीले स्थलगत अध्ययन समेत गरेको थियो । संयुक्त अवलोकन पछि कलंकी, सुन्धारा, कोटेश्वर, माछापोखरी, चावहिल लगायत क्षेत्रमा महानगरले जग्गा उपलब्ध गराउने, संघले शौचालय निर्माण र सुरुका केही वर्ष सञ्चालनको जिम्मेवारी लिने दुईपक्षिय सहमति भएको थियो ।
मुलुकको संघीय राजधानी मात्र नभई प्रत्येक विदेशी पर्यटकलाई स्वागत गर्ने महानगर समेत भएकाले काठमाडौँलाई स्वच्छ र सफा राख्न यो पहल कदमी थालिएको हो । यसले काठमाडौँका आगन्तुक तथा यात्रुलाई पनि सुविधा पुग्ने विश्वास लिइएको छ । सरकारले २०२० लाई भ्रमण बर्षको रुपमा घोषणा गरिसकेको अवस्थामा काठमाण्डौँको प्रमुख चोक तथा सार्वजनिक स्थानमा शौचालय निर्माण गर्दा भ्रमण बर्ष २०२०लाई पनि प्रत्यक्ष सहयोग पुग्ने भएकोले यस पहललाई सफल, प्रभावकारी र दिगो बनाउन यहाँहरुले आआफ्नो क्षेत्रबाट गर्न सक्ने योगदानको समेत अपेक्षा गरिएको अध्यक्ष पन्तले जनाएको छ ।