सन्दीपले अष्ट्रेलियामा जारी विग ब्यास लिग अन्तर्गत विहीबार हुने सिड्नी थन्डरसँगको खेल गुमाउने

भिजन अनलाईन न्युज संवाददाता

प्रकाशित:  628 पटक हेरिएको

अष्ट्रेलिया, पुस १६ । 

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी विग ब्यास लिग अन्तर्गत विहीबार हुने सिड्नी थन्डरसँगको खेल गुमाउने भएका छन् । मेलबर्न स्टार्सले विहीबार हुने सिड्नीसँगको लागि १३ खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा सन्दीप छैनन् । मेलबर्नले सन्दीप खेलको क्रममा घाइते हुँदा विश्राम दिएको जनाएको छ । उनको स्थानमा पाकिस्तानका तीब्र गतिका बलर हरिस रउफ आएका छन् । सन्दीपले सुरुवाती ४ खेलमा ३ विकेट लिएका छन् ।

मेलबर्न स्टार्सले ४ खेलमा ३ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । सन्दीपले पहिलो खेलमा ब्रिसबेन हिटसँग ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिएका थिए । ब्रिसवेनलाई मेलबन स्टार्सले २२ रनले हराएको थियो । दोस्रो खेलमा होबार्ट हरिकेन्ससँग सन्दीपले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिदा मेलबर्न ५२ रनले विजयी भएको थियो ।

एडिलेड स्ट्राइकर्ससँग ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिएका थिए । जुन खेलमा मेलबर्न स्टार्स ५ रनले पराजित भएको थियो । चौथो खेलमा होबार्ट हरिकेन्ससँग सन्दीपले २ ओभरमा ११ रन खर्चिदा विकेट विहीन बने । मेलबर्न डक वर्थ लेविस पद्धतीको आधारमा ४ रनले विजयी भएको थियो । सन्दीपको स्थानमा हाएका पाकिस्तानका तीब्र गतिका बलर हरिस रउफले सुरुवाती २ खेलमा ७ विकेट लिएका छन् ।

ब्रिसबेन हिटसँग २ विकेट लिएका उनले एडिलेड स्ट्राइकर्सविरुद्ध ४ ओभरमा २७ रन खर्चेर ५ विकेट लिदै म्यान अफ द म्याच चुनिएका थिए । तर दक्षिण अफ्रिकी तीब्र गतिका बलर डेल स्टेन टोलीमा फर्किदा मेलबर्नले उनलाई बेन्चमा राखेको थियो । सन्दीपले मेलबर्न डर्बी खेलमा पुनरागमन गर्ने अपेक्षा गरिएको छ । शनिबार हुने मेलबर्न रेनेगड्ससँगको खेलका लागि तयार राख्न सन्दीपलाई विश्राम दिइएको मेलबर्न स्टार्सले जनाएको छ ।(एजेन्सी)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार