अंग्रेजी नयाँ वर्ष २०२० मा प्रधानमन्त्रीको शुभकामना सन्देश सबैका निम्ति प्रगति र आरोग्यको वर्ष बनोस्

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  579 पटक हेरिएको

काठमाडौं, पुस १६ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको अंग्रेजी नयाँ वर्ष सन् २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश व्यक्त गरेका छन् । अंग्रेजी नयाँ वर्षका अवसरमा बुधबार दिएको शुभकामना सन्देशमा उनले  हामीबाट भर्खरै बिदा भएको २०१९ नेपालको सुस्थिर राजनीतिक उपलब्धिको वर्षका रुपमा रहेको, यसै वर्ष हामीले अन्तरराष्ट्रिय जगत्मा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सफल भएको तथा दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार गरेको  स्मरण गरेका छन् । 

“यही समयमा हामीले पृथकतावादी प्रवृत्तिलाई सधैंँका लागि अन्त्य गर्‍यौँ । विकासका केही दूरगामी योजना यसै वर्ष थालनी गर्‍यौँ  भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजना सम्पन्न गर्‍यौं । चार वर्षअघिको  भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माण सम्पन्नताउन्मुख छ,” सन्देशमा उनले उल्लेख गरेका छन् । 

व्यवसायका लागि सुरक्षित राष्ट्रका रुपमा नेपालको स्थान केही माथि पुगेको तथा आयात कटौती र निर्यातमा केही वृद्धि गरी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएको बताउँदै प्रधानमन्त्री ओलीले निराशाहरु विनिमय गरी समय बिताउने हाम्रो सामाजिक प्रवृत्ति सङ्क्रमणकालीन संशयलाई चिर्दै विकास, सुशासन र समृद्धितर्फको बहसमा अभ्यस्त हुन थालेको सन्देशमा उल्लेख गरेका छन् । 

“समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रा कदम थप अघि बढेका छन् । समग्रमा राजनीतिक सङ्घर्ष र व्यवस्थापनको बहसबाट सिङ्गो समाज यस अवधिमा विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सकेको छ,”  सन्देशमा प्रधानमन्त्रीले भनेका छन् ।    

राष्ट्रिय समृद्धितर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।  अर्को नयाँ वर्षको सँघारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग देखिने गरी उचाइमा उठ्ने तथा जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने बताउँदै उनले  निर्वाचन मार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै आफूले पटकपटक गरेको सङ्कल्प ‘जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने सरकारको यस अभियान’मा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहने आशा प्रकट गरेका छन् । 

नयाँ वर्ष सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्षका रुपमा समेत मनाएर लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने बताउँदै प्रधानमन्त्री ओलीले सन् २०२० स्वदेश र विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने कामना समेत ब्यक्त गरेका छन् । – रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार